‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

काठमाडाैं | चैत १७, २०८१

‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ । 


गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ । 


विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो । 

    
गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ । 

    
सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ । 

    
चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो ।     


“मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो । 

    
गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो । 

    
सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो ।

    
“मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ ।  

    
अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।”

    
चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्